• काठमाडौं – अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ । वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको हो ।

    उक्त विमानवाहक युद्धपोत जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि हालसम्म उपग्रह तस्वीरमा देखिएको थिएन । अहिले भने यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा अरब सागर क्षेत्रमा देखिएको हो ।

    सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरले युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।

    दुई विनाशक पूर्वी भूमध्यसागरस्थित सौडा बेस्थित अमेरिकी अड्डा नजिक र एक विनाशक रातो सागर क्षेत्रमा देखिएको छ । स्थलतर्फ पनि अमेरिकी हवाई गतिविधि बढेको देखिएको छ । जोर्डनको मुवाफ्फाक सल्ती सैन्य अड्डामा एफ(१५ र ईए(१८ लडाकु विमानको संख्या बढेको उपग्रह तस्वीरले देखाएको छ ।

    साथै अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ कार्गो विमान, इन्धन आपूर्ति र सञ्चार सहयोगी विमानहरूको आवागमन पनि बढेको छ । मध्यपूर्वमा बढ्दो अमेरिकी सैन्य तैनाथीले इरानसँगको तनाव थप चर्किने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

    यसैबीच अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विट्जरल्यान्डमा दोस्रो चरणको वार्ता हुने तयारी छ । इरानले उक्त बैठकमा आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने विषय केन्द्रमा रहने जनाएको छ । तर वासिङ्टनले भने अन्य मुद्दाहरू पनि छलफलमा ल्याउन चाहेको संकेत दिएको बीबीसीले जनाएको छ ।