• काठमाडौं –सर्वोच्च अदालतमा आजदेखि प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हिजोदेखि ६५ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको हो ।

    संविधानको धारा १२९ उपधारा ९ बमोजिम वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी ग्रहण गर्ने परम्परा छ । न्याय परिषद्ले फागुन २१ गतेको निर्वाचन अगावै प्रधानको नाम एक नम्बरमा राखेर त्यसपछिको रोलक्रमका ५ जना न्यायाधीशको नामसमेत संवैधानिक परिषद्मा पठाइसकेको छ ।

    नयाँ सरकार भर्खरै गठन भएको, संवैधानिक परिषदले पूर्णता पाएको अवस्था नरहेकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिको मिति थप लम्बिने निश्चित छ । परिषद्मा सदस्य रहेका सभामुख, उपसभामुख र विपक्षी दलको नेता चुनिन बाँकी भएकाले परिषद्को बैठक तत्काल बस्न सक्ने अवस्था छैन ।

    अर्कोतर्फ संसदीय सुुनुवाई समिति पनि नयाँ बनिनसकेकाले परिषद्को सिफारिसमाथि सुनुवाई हुन थप समय लाग्ने छ ।