• काठमाडौं – आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुलेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला भएका हुन् ।

    यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो । मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ । सरकारी कार्यालय बिहान ९ देखि स्झ ५ बजे सञ्चालन गर्ने यो पहिलो निर्णय भने होइन । यसअघि १ जेठ, २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।