-
भैरहवा — मूल भन्सारका सेवामा सुधार गरेर आयात–नियातकर्तालाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । भन्सारका सेवा प्रभावकारी तुल्याउन नीति, प्रविधि, पूर्वाधार र जनशक्ति विकास गरिनुपर्ने सरोकारवालाको भनाइ थियो । त्यसका लागि भन्सार कार्यालयले पहल गर्नुपर्ने उनीहरूले बताए ।
लुम्बिनी प्रेस क्लबले भन्सार दिवसको अवसरमा आइतबार आयोजना गरेको छलफलमा उद्योगी र व्यवसायीको लगानी सुरक्षाका लागि वैज्ञानिक भन्सार महसुल लागू गर्नुपर्ने उद्योगीले बताए ।
‘जबसम्म वैज्ञानिक भन्सार महसुल लागू गरिँदैन, तबसम्म नेपाली बजार र उद्योगको आम्दानीमा सुधार सम्भव छैन,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले भने, ‘नेपाल र भारतमा बस्तुको मूल्य फरक छ । नेपालको तुलनामा भारतमा आधा मूल्यमा सामान पाइन्छन् । यस्तो अवस्थामा सर्वसाधारणले हाम्रो सामान किनेन् भनेर दुखेसो गरेर मात्र बजार सुधार हुँदैन ।’
भारतले १८ प्रतिशतबाट जीएसटी घटाएर ५ प्रतिशत बनाएपछि मूल्यमा झन् गिरावट आएको उनले बताए । खुला सिमानाका कारण चोरी तस्करी नियन्त्रण सम्भव नभएको उनले बताए । ‘जुन घरको भित्ता छैन, त्यो घरमा चोरी कसरी रोक्न सकिन्छ,’ उनले भने, ‘त्यसमाथि अवैज्ञानिक भन्सार दर छ । त्यसैले नाका थुनेर भारतीय बजारमा हुने किनमेल रोक्न सकिँदैन ।’
उद्योगीका अनुसार अहिले पनि भन्सार पासका लागि भारतबाट आएका गाडीको नेपाल र भारततर्फ लामो लाइन हुन्छ । एउटा गाडीलाई भन्सार प्रक्रिया पूरा गर्न २/३ दिन लाग्ने समस्या छ । ‘भन्सारको काम भनेको सामान पास गर्ने हो,’ पन्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने, ‘भारतबाट भन्सारसम्म ल्याएका सामान उद्योगसम्म पुग्न धेरै दिन लाग्छ । अर्कोतर्फ नियममा एउटा कुरा उल्लेख हुँदा भन्सारमा अर्कै नियम लागू हुँदै आएकाले समान व्यवहार गर्न अनुरोध छ ।’ उनका अनुसार यहाँका उद्योगले भारतका विभिन्न स्थानबाट कच्चा पदार्थ र मेसिनरी सामान आयात गर्छन् । त्यसरी आयात गरिएका सामान भारतका नौतनुवासम्म रेलमार्फत ल्याउने गरिएको छ । रेलबाट नौतनुवासम्म सामान आयात गर्दा लाग्ने भन्दा दोब्बर मूल्य नौतनुवाबाट उद्योसम्म सामान पुर्याउँदा लागिरहेको उनले बताए । भैरहवामा निर्माण सकिन लागेको आइसीपीसम्म रेलवे सेवा उपलब्ध नभएसम्म उद्योगी मर्कामा पर्ने उनीहरूले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले बेलहिया नाकालाई कसरी व्यवस्थित र गुल्जार बनाउन सकिन्छ भनेर पहिलोपटक सरोकारवालाबीच छलफल गरिएको बताए । ‘नेपालतर्फ अहिले पनि सुनसान अवस्था छ,’ उनले भने, ‘नाकापारि भारतमा व्यापारीलाई भ्याइ–नभ्याइ छ ।’ भारतीय बजारबाट सिधैं सामान ओसारेको नदेखिए पनि नेपालका तराईदेखि पहाडसम्म घरघरमा तस्करीका सामान पुर्याउने गरिएको उनले बताए । ‘यसले भन्सार राजस्व डुबिरहेको छ,’ उनले भने, ‘बेरोजगारी पनि बढिरहेकाले चिन्ता बढ्दो छ ।’ उद्योगी गणेश अधिकारीले भन्सारमा बिना चलखेल सामान पास हुने वातावरण तयार गरिनुपर्ने बताए । ‘क्षमताभन्दा धेरै भार बोक्ने गाडी रोकिनुपर्छ,’ उनले भने, ‘भन्सार बिन्दुमा छुट नपाएर यस्ता भार बोक्ने गाडी नेपालका सहरसम्म कसरी पुग्छन् ?’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले तस्करी नियन्त्रण नै अहिलेको चुनौती रहेको बताए । ‘भारतबाट हुने तस्करीले नेपालतर्फका उद्यम, व्यवसाय चल्न छाडेका छन्,’ उनले भने, ‘सही कागजात पेस गरे भन्सारले दुःख दिँदैन, त्यसतर्फ हामी गम्भीर बन्नुपर्छ ।’
भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले कार्यालयको उद्योगीका सामान रोक्ने कुनै नियत नभएको बताए । आवश्यक कागजात नपुगेको अवस्थामा मात्रै सामान रोकिने गरेको उनले बताए । सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहक हेरेर मालसामान बिक्री हुँदै आएकाले नाकापारिको किनमेल रोक्न नसकिने अवस्थामा पुगेको उनले बताए । ‘परम्परागत भन्सार प्रणालीमा सुधारको कोसिस गरिरहेका छौं,’ उनले भने, ‘जतिसक्दो स्तरीय सेवा गर्नेतर्फ ध्यान छ ।’
प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले उद्योगी, व्यवसायीले उठाएका विषयप्रति गम्भीर रहेको बताए । ‘पैसा कमाउने उद्देश्यले प्रहरीका कुनै पनि युनिटले आम नागरिक र उद्योगीलाई दुःख दिने छैनन्,’ उनले भने, ‘यो मेरो प्रतिबद्धता हो र आजैबाट लागू हुन्छ ।’ कसैसित मिलेमतो गरेर पैसा कमाउने उद्देश्यले नआएको उनले बताए । प्रहरीले के गरिरहेको छ भनेर निगरानी गर्न पनि उनले आग्रह गरे । आफू मातहत कुनै पनि निकायले दुःख दिएको खण्डमा त्यसको जिम्मेवारी आफूले लिने उनले बताए । ‘बेनेफिट लिनेगरी कानुन कार्यान्वयन हुँदैन,’ उनले भने ।
News Desk 0 response शनिबार, माघ ११, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३