• काठमाडौं –  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उमेदवारी नदिने घोषणा गरेका छन् ।

    उमेदवारी दर्तास्थलमा कुरा गर्दै केसीले पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्दा पनि सफल हुन नसकेको बताए । उनले केन्द्रीय समितिबाहिर बस्दा पनि एकताको प्रयासमा सक्रिय रहने उल्लेख गरे ।

    “मैले अन्तिमसम्म पनि पार्टी एकताका लागि प्रयत्न गरेँ । तर, मेरो प्रयत्न सफल भएन,” केसीले बाह्रखरीसँग भने, “मेरा समकालीनहरू कोही पनि प्रतिस्पर्धामा हुनुहुन्न । त्यसैले युवाहरूको उत्साहलाई समर्थन गर्दै उमेदवारी नदिने निर्णय गरेको हुँ ।”

    केसीले युवाहरूमा देखिएको उत्साहलाई समर्थन, परिवारभित्रैबाट उमेदवारहरू भएकाले पनि उमेदवारी नदिनु उपयुक्त ठानेको बताए । आफूले गिरिजाप्रसाद कोइरालासँग पनि प्रश्न उठाउँदै आएको भन्दै विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा पनि अन्तिमसम्म प्रश्नहरू गरेको बताए ।

    विगतमा नेतृत्वमा राष्ट्रभन्दा पार्टी, पार्टीभन्दा नेता, नेताभन्दा गुट र गुटभन्दा गिरोह हाबी हुन थालेपछि विशेष महाधिवेशनमा खुलेर लागेको उनले बताए । गुटगत राजनीति रोकेर योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने उनले बताए ।