• धनकुटा – आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महानगरको जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न नसक्ने व्यक्ति देशको नेतृत्व दाबी गर्नु स्वाभाविक रूपमा प्रश्नयोग्य हुने बताएका छन् ।

    शनिबार धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालनसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै साहले देश परिवर्तन र सुधारको चरणमा रहेको भन्दै त्यसका लागि निर्वाचन नै मुख्य माध्यम भएको बताए । उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने वा वर्तमान सत्ता लम्ब्याउने कुनै पनि प्रयासलाई जनताले स्वीकार नगर्ने चेतावनी दिए ।

    साहले केही चर्चित राजनीतिक पात्रहरूले देशलाई स्पष्ट दिशा दिन नसक्ने दाबी गर्दै ती पात्रहरू पहिले नै परीक्षण भइसकेको बताए । उनले नयाँ विकल्पको नाममा पुनः जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

    काठमाडौँ महानगरपालिकाको नेतृत्वको प्रसङ्ग उठाउँदै साहले पर्याप्त बजेट हुँदाहुँदै पनि अपेक्षित विकास र सेवा प्रवाह हुन नसकेको टिप्पणी गरे । महानगरको पुँजीगत खर्च सन्तोषजनक नभएको, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिन नसकेको तथा करको तुलनामा सेवा कमजोर रहेको उनको भनाइ थियो ।

    उनले महानगर नेतृत्वले जनतासँगको प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्व जनमुखी र जबाफदेही हुनुपर्नेमा जोड दिए ।