• काठमाडौँ – महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

    विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले जानकारी दिए । बिदाइका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ ।

    ‘कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ,’ कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भनिन्, ‘कोषले पाँच हजार एक सय २० रुपैयाँ, एक हजार एक दुई सय रुपैयाँ, ७ सय १ एक रुपैयाँ, ५ सय १ एक रुपैयाँ, ३ सय १ एक रुपैयाँ, तीन सय रुपैयाँ, २ सय १ रुपैयाँ र १ सय १ रुपैयाँका दरले रकम दक्षिणा दिनेछ ।

    साधुलाई दान दक्षिणाका लागि आठ लाख रुपैयाँ बजेट कोषले छुट्याएको उनले जानकारी दिइन् । कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई सात लाखको ५० हजार किलो दाउरा किनिएको संस्थानका उपप्रशासक पाण्डेले बताए ।

    भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी १५ करोड रुपैयाँ पुगिसकेको पनि कोषले जनाएको छ ।