• निपाह भाइरसको मुख्य (प्राथमिक) स्रोत मानिने चमेरो हो। हाल यो भाइरस भारतको कोलकाता नजिकैको एक सहरमा फैलिएको पुष्टि भएको छ। त्यहाँको एक स्वास्थ्य संस्थामा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गरी कम्तीमा पनि पाँच जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ। यद्यपि, स्वास्थ्यकर्मी स्वयं सङ्क्रमित भएर संस्थामा सङ्क्रमण फैलिएको हो वा कुनै सङ्क्रमित बिरामीबाट उनीहरूमा सरेको हो भन्ने कुरा यो लेख तयार पार्दासम्म यकिन भइसकेको छैन। सङ्क्रमितको सम्पर्कमा रहेका करिब १०० जनालाई आइसोलेसनमा राखिएको छ। 

    निपाह भाइरसको प्राकृतिक स्रोत मानिने चमेरोको प्रजाति नेपालमा तराईदेखि काठमाडौँलगायत पहाडी भेगमा समेत पाइने विभिन्न अनुसन्धानले देखाएका छन्। तसर्थ, नेपालमा पनि कतै निपाह भाइरस (चमेरोमार्फत) उडिरहेको त छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। अनुसन्धान वा परीक्षणबिना कुनै पनि सङ्क्रमण छैन भनेर यकिन गर्न मिल्दैन। नेपालमा निपाह भाइरसको प्राथमिक स्रोत मानिने चमेरोको प्रजाति रहेको विभिन्न अध्ययनले देखाए पनि भाइरस नै छ भनेर अनुसन्धान गरी सार्वजनिक भएको पाइँदैन। तथापि, भाइरस पाइने चमेरोको प्रजाति नेपालमा प्रशस्त रहेकाले उच्च सतर्कता अपनाउन अनुसन्धानकर्ताहरूले सुझाव दिने गरेका छन्।  छिमेकी देश भारत तथा बंगलादेशमा निपाह भाइरसको ‘आउट-ब्रेक’ को स्रोत चमेरो देखिँदै आएकाले नेपालमा पनि यसको जोखिम उच्च देखिन्छ। भारत तथा बंगलादेशमा झन्डै दुई दशक अगाडिदेखि निपाह भाइरसको सङ्क्रमण लगभग बर्सेनि देखिँदै आएको छ। नेपालमा पनि चमेरोको सो प्रजाति यथेष्ट हुँदाहुँदै आजको मितिसम्म मानिसमा सङ्क्रमण नदेखिनु वा पुष्टि नहुनुमा मानिस र चमेरोबिचको नजिकको सम्पर्क नहुनु मुख्य कारण हुनसक्छ।  भारत र बंगलादेशमा यो भाइरस मानिसमा चमेरोले खाएर छोडेको जुठो फलफूल वा खानेकुरा खाँदा सरेको देखिन्छ। त्यस्ता खानेकुरामा चमेरोको र्‍याल, दिसा, पिसाब आदि लागेको हुनसक्ने र सो खाने व्यक्तिमा भाइरस सङ्क्रमण भएपछि समुदायमा जाँदा मानिस–मानिसबिच फैलिने गरेको पाइन्छ। यो भाइरस गुलियो खानेकुरामा धेरै दिनसम्म सक्रिय रहन सक्ने अनुसन्धानहरूले देखाएका छन्।

    शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जनावरको टोकाइबाट घाइते भई खोप (उपचार) का लागि दैनिक सयौँको सङ्ख्यामा मानिसहरू आउने गर्दछन्। यीमध्ये अधिकांश कुकुरको टोकाइबाट घाइते भएर आउँछन् भने बाँकी बिरालो र बाँदरजस्ता जनावरको टोकाइबाट उपचारका लागि आउने गर्दछन्।

    तर, मैले कहिलेकाहीँ चमेरोले टोकेको वा चिथारेको भनेर आएका बिरामीहरू पनि देखेको छु। यसले पछिल्लो समय हामी पनि विभिन्न कारणले चमेरोको सम्पर्कमा आउने क्रम बढेको सङ्केत गर्दछ। यद्यपि, हामी निपाह भाइरसको जोखिमबारे भने अनभिज्ञ नै देखिन्छौँ। भारतमा बर्सेनि जसो निपाह भाइरसले मानिसलाई सङ्क्रमित गराउँदै गर्दा हामीले पनि सतर्कता अपनाउनुपर्ने समय आएको देखिन्छ। हाल भारतमा देखियो भनेपछि मात्र नेपालले पनि सतर्कता अपनाउन आग्रह गर्ने परिपाटीले स्थानीय चमेरोबाट नै निपाह भाइरस फैलिन सक्ने सम्भावित जोखिमलाई नजरअन्दाज गरेको देखिन्छ। 

    यो सङ्क्रमणप्रति नेपाल गम्भीर हुनुपर्ने मुख्य कारण भनेको यसको मृत्युदर उच्च हुनु नै हो। विश्व स्वास्थ्य संगठनले यसको मृत्युदर ४० देखि ७५ प्रतिशत भने पनि भारत तथा बंगलादेशमा भने शतप्रतिशतसम्म भएको देखिएको छ।

    तसर्थ, भारतमा फैलिएपछि मात्र नेपालमा निपाह भाइरसको जोखिम बढ्छ भन्ने बुझाइलाई सच्याउन जरुरी छ। हालसम्म यो भाइरस मानिसमा पुष्टि नभएको भए पनि सम्बन्धित निकायले नियमित ‘सर्भिलेन्स’ मा यसलाई समावेश गर्दै सजगता तथा सतर्कतालाई निरन्तरता दिनुपर्दछ।

    यो सङ्क्रमणप्रति नेपाल गम्भीर हुनुपर्ने मुख्य कारण भनेको यसको मृत्युदर उच्च हुनु नै हो। विश्व स्वास्थ्य संगठनले यसको मृत्युदर ४० देखि ७५ प्रतिशत भने पनि भारत तथा बंगलादेशमा भने शतप्रतिशतसम्म भएको देखिएको छ। सम्भवतः नेपालमा पनि यो भाइरस देखिए भारत तथा बंगलादेशको अवस्था (मृत्युदर) भन्दा खासै फरक नहुन सक्छ। 

    झन्डै २० प्रतिशत सङ्क्रमित बिरामी उपचारपश्चात् पनि मस्तिष्कसम्बन्धी दीर्घकालीन समस्याबाट गुज्रिनुपर्ने अर्को चिन्ताको विषय हो। त्यस्तै, अर्को महत्त्वपूर्ण कुरा भनेको नेपालका अधिकांश स्वास्थ्य संस्थाहरू (अस्पतालहरू) निपाह भाइरसजस्ता उच्च घातक संक्रामक रोगहरूको द्रुत निदान तथा उपचारमैत्री छैनन्। यसै कारण पनि कोभिड-१९ महामारीको बेलामा नेपालका अधिकांश अस्पतालहरूमा कोभिड-१९ को निदान वा उपचार हुन सकेको थिएन। 

    हाल भारतमा देखिएको निपाह भाइरस सङ्क्रमण पनि स्वास्थ्य संस्थामा नै देखिएको हो। विगतमा पनि भारत तथा बंगलादेशमा निपाह भाइरस स्वास्थ्यकर्मीबिच नै फैलिएको इतिहास छ। छिमेकी देशहरूमा देखिएका यस्ता घटनाक्रमबाट पाठ सिकेर नेपालका स्वास्थ्य संस्थाहरूले पनि सतर्कता अपनाउनु अति आवश्यक देखिन्छ।

    अन्त्यमा, निपाह भाइरसको प्राथमिक स्रोत मानिने चमेरोको प्रजाति नेपालमा पनि भएकाले भाइरसको सम्भावित ‘आउट-ब्रेक’ लाई नजरअन्दाज गर्न सकिँदैन। पछिल्लो समयमा चमेरोले टोक्यो वा चिथार्यो भन्नेहरू बढ्दै जाँदा मानिस र चमेरोबिचको सामीप्य (दूरी) पनि नजिकिँदै गइरहेको सङ्केत गर्दछ। यसबाट नेपालमा पनि निपाह भाइरसको जोखिम बढ्दै गएको भन्दा अत्युक्ति नहोला। नेपालमा हालसम्म चमेरोमा निपाह भाइरस पुष्टि भएको वैज्ञानिक प्रमाण नदेखिए पनि अनुसन्धान वा परीक्षण नै नगरी ‘छैन’ भनेर यकिन गर्न मिल्दैन। के थाहा, कतै निपाह भाइरस नेपालमा पनि (चमेरोसँगै) उडिरहेको पो छ कि ?